१७ असोज, काठमाडौं । पाँच राष्ट्र सम्मिलित ट्वेन्टी ट्वेन्टी शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगेको छ ।
सिंगापुरमा त्रिकोणात्मक टि–ट्वेन्टी सिरिज सकाएर नेपाली टोली गएराति १० बजे श्रीलंका हुँदै ओमान पुगेको हो । पाँच देशबीचको सिरिज ओमानमा भोलिदेखि सुरु हुँदैछ । नेपालले भने आफ्नो पहिलो खेल पर्सि हङकङविरुद्ध खेल्नेछ ।
ओमान क्रिकेटले आयोजना गरेको ट्वेन्टी ट्वेन्टी शृंखलामा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागी हुँदैछन् । शृंखला यही असोज २३ गतेसम्म चल्नेछ ।
युएईमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको शृंखला खेलाउन लागेको हो ।
नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेपछि शृंखलामा सहभागी हुन लागेको हो ।