१७ असोज, गोरखा । ऐतिहासिक गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन सेनाको झल्को दिने पोसाक लगाएर नेपाली सेनालाई खटाउन थालिएको छ ।

गोरखाबाटै नेपाली सेना गठनको सुरुवात भएकाले त्यही कालखण्डको झल्को दिने पोसाक लगाएर सेना खटाउन थालिएको गोरखास्थित रणसिं दल गणका गणपति उज्ज्वल केसीले बताए ।
पृथ्वीनारायण शाहकालीन सेनाको पोसाक अर्थात कालो रंगको दौरा सुरुवाल, शिरमा चाँदतोडा र कालो बुट लगाएर खटिने सेनाले भरुवा बन्दुक बोक्नेछन् । हाल उनीहरुलाई गोरखकाली मन्दिर क्षेत्रमा खटाइएको केसीले जानकारी दिए ।
‘ऐतिहासिक पोसाकसहित मन्दिरको दायाँबायाँ दुई जना उभिएर बस्छन्’, उनले भने, ‘पालैपालो खटाउने गरी हाल ११ जना आएका छन्, पछि १५ जना पुर्याउँछौँ ।’
नेपाली सेनाको उद्गमस्थल मानिने गोरखा दरबारमा त्यही समयको पोसाक लगाएर सेना खटिँदा ऐतिहासिक पक्षको उजागर हुनुका साथै जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए ।