१८ असोज, बाग्लुङ ।
ढोरपाटन शिकार आरक्षमा शिकार गर्न खुला गरिएको छ । यो याममा सात नाउर र पाँच झारलको शिकार गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
विभागले अघिल्लो महिना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । १० नाउर र छ झारलको कोटा रहे पनि शिकारको माग कम आएको विभागले जनाएको छ ।
शिकार कम्पनीबीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि यसपालि राजश्व दर पनि घटेको छ । शिकार कम्पनीले एउटा नाउर शिकारको एक लाख ९० हजार रुपैयाँ राजश्व तिरेको व्यवस्थापन शाखाका सहायक व्यवस्थापक अधिकृत सन्तोष भगतले बताए। झारल शिकारको राजश्व त्योभन्दा अझै कम छ ।
अघिल्लो शिकार याम (फागुन–वैशाख) मा एउटा नाउर शिकारको राजश्व १३ लाख ५१ हजार र झारल शिकारको १३ लाख ५० हजार पुगेको थियो ।
शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व घट्ने हुन्छ । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउने गरेका छन् ।