१९ असोज, विराटनगर ।
बडादशैँको आठौँ दिन आज महाअष्टमी । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्वमा आज दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाइँदैछ ।
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । यस दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।
आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाअर्चना गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रीहरु बताउँछन् ।
पशुबली नचढाउनेहरुले भने अष्टमीको दिन पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्दछन् ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुन्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।
यसैगरी, उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चन्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा–आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारी–साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रकारुपमा मानी पूजा गर्ने गरिएको हो ।