१९ असोज, एजेन्सी ।
पाकिस्तान विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा श्रीलंका ६४ रनले विजयी भएको छ । श्रीलंकाले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टिम पाकिस्तान १०१ रनमै समेटियो ।
उसका लागि इफ्ति इफ्तिखर अहमदले २५, कप्तान सरफराज अहमदले २४, बाबर आजमले १३ रन बनाए । अन्यले खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।
बलिङमा श्रीलंकाका इशरु उडाना, नुवान प्रदीपले ३–३, वानिन्दु हसरंगाले २ र कसुन रजिथाले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो ।
उसका लागि ओपनर दनुष्का गुनाथिलकाले उत्कृष्ट ब्याटिङ गरे । उनले १ छक्का र ८ चौकाको मद्दतमा ३८ बलमा ५७ रन बनाए । टी–२० करियरमा दनुष्काको यो उच्च स्कोर हो । यस्तै अभिश्का फर्नान्डोले ३३, भानुका राजापाक्षेले ३२, कप्तान दसुन शानकाले १७ रनको योगदान दिए ।
बलिङमा पाकिस्तानका मोहम्मद हसनैनले ३ र शादव खानले एक विकेट लिए । यो खेल जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको छ ।
लामो समयपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको श्रीलंकाले पाकिस्तानसँगको एकदिवसीय सिरिज भने २–० ले गुमाएको थियो ।