२० असोज, काठमाडौं ।
मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीको अविजित अर्धशतकमा नेपालले ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले आइतबार हङकङलाई ४ विकेटले पराजित गर्यो ।
नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङले निर्धारत २० ओभरमा ६ विकेट गुमाई १ सय २५ रन बनायो। विनोदले ४८ बलमा ५८ रन बनाएपछि नेपालले अल अमेरात क्रिकेट मैदानमा एक ओभर अगावै विजय हात पार्यो।
विनोदले ४ चौका र ३ छक्का प्रहार गरे। १९ औं ओभरको पाँचौं बलमा इहसान खानलाई छक्का प्रहार गरेका विनोदले त्यसको अर्को बलमा २ रन प्रहार गर्दै विजय रन बटुलेका थिए। नेपालले सो ओभरमा ११ रन जोडेको थियो। त्यसमा विनोदले १० रन बनाएका थिए।
अर्का अविजित ब्याट्सम्यान करण केसीले १ रन बनाए। कप्तान पारस खड्कालाई पहिलो गुमाएपछि धरमराएको नेपाली इनिङ्सलाई विनोदले सोमपाल कामीसँग छैटौं विकेटमा ६१ रन जोडेर उकासेका थिए।
सोमपालले १३ बलमा २ चौकासहित १३ रन बनाए। पारसपछि अर्का ओपनर पवन सर्राफ १०, आरिफ शेख २४, दीपेन्द्रसिंह ऐरी ६ र रोहित पौडेल ५ रनमा आउट भएका थिए।
हङकङका केयल क्रिस्टी र नसरुल्ला रानाले २र२ विकेट लिए। यसअघि करण केसीले ४ विकेट लिदैं हङकङको इनिङ्स खुम्चाएका थिए। करणले पाँचौं ओभरमा एहनास अब्बास (१३) लाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए।
करणले सो ओभरमा अर्का ओपनर निजाकत खानलाई २३ र साहिद वासिफलाई शुन्यमा आउट गरे। हङकङबाट वकास वरकातले सर्वाधिक ३७ रन बनाए। उनी करणको चौथो शिकार भए। त्यस्तै कप्तान किन्चित शाहले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए।
इहसान १० रनमा अविजित रहे। करणले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका हुन्। अविनाश बोहराले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।
हङकङ शनिबार पहिलो खेलमा आयोजक ओमानसँग ७ विकेटले पराजित भएको थियो। ओमानले आइतबारको अर्को खेलमा आयरल्यान्डलाई ४३ रनले पराजित गर्यो।