२० असोज, महोत्तरी ।
बडादसैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन्। पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन्।
दसैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ। पछिल्ला तीन दिनयता १०,१२ को सङ्ख्यामा बारीमा पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताए।
भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोल, बनरा, प्रेमनगर, सीतापुर, धतियाटोल र राजपुरमा जङ्गली बँदेलको बिगबिगी बढेको छ।
त्यसैगरी बर्दिवासको मनहरीपुर, फुलबारी टोल र पशुपतिनगरमा पनि जङ्गली बँदेलले तरकारी बाली र केराका थाम उखेलेको किसानले बताएका छन्।
पछिल्लो पटक बँदेलसँगै दुम्सी पनि बस्ती नजिकका उखुघारीमा बढेका पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए।
जिल्लाको गौशाला नगरपालिकाको भरतपुर खोर, बटुवा, लक्ष्मीनियाँ र इँटाटार बस्तीमा बँदेलले बाली निकै नोक्सान गरेको किसानको गुनासो छ। यसबाहेक पूर्वपश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रका बर्दिवास नगरपालिकाका कृष्णपुर, खजुरियाटोल र करमटोकीमा पनि बँदेल बाक्लै पसेका छन्।
उखु र तरकारीखेती गरिने जिल्लाको उत्तरी क्षेत्रमा बँदेल दिनभरि उखुबारीमा लुकेर प्रत्येक रातजसो तरकारी नोक्सान गर्न समूहमा आउने गरेको किसान बताउँछन्।
मिरमिरे उज्यालो नभएसम्म कोभी फाँडेर बँदेल घारी पस्ने गरेको पशुपतिनगरकी किसान शैल महतोले गुनासो गरे। आफ्नो बस्तीमा दसैँ शुरु भएयता मात्र तीनरचार बिघाको कोभी खेती नोक्सान गरेको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालको भनाइ छ।
बँदेलले बारीमा सबैभन्दा बढी कोभी, लौका र काँक्रा नोक्सान गर्ने गरेको किसानको भनाइ छ। बँदेलले झम्टने डरले किसान बाली रुँग्न पनि डराउने गरेका छन्।
वन क्षेत्रबाट बस्तीतिर पसेका बँदेल, दुम्सी र नीलगाई औरही नगरपालिकाको चेप्कोट, औरहीबजार नजिकको जङ्घा नदी किनार र गौशाला नगरपालिकाको भाण्टाबारी, रजखोर, रामनगर, कुष्माढी र बेलगाछीमा छ्यापछ्याप्ती देखिने गरेका छन्।
करीब मध्यरातदेखि बिहान ४ बजेसम्मको समयमा बँदेल आतङ्क बढेको सर्वसाधारणको भनाइ छ।(रासस)