२१ असोज, दिल्ली । नेपालीहरुको महान चाड बडादशैंको मुख्यदिन विजयादशमी, मान्यजनको हातबाट टिका जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाईदैछ । प्रवासमा रहेका नेपालीहरुले पनि यसपर्वलाई उत्साहका साथ मनाएका छन् ।
भारतको राजधानी दिल्लीमा प्रवासी नेपालीहरु खाशगरि अध्ययनका सिलसिलामा भारतमा रहेका विद्यार्थीहरुले पनि विजयादशमी पर्व मनाएका छन् । दशैं मनाउन घर जान नपाएका दिल्लीको लक्ष्मीनगरमा अध्ययनरत सिए विद्यार्थी र दिल्ली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि विजयादशमी मनाएका हुन् । दिल्लीस्थित हातेमालो नेपाली विद्यार्थी समूहले लक्ष्मीनगरमा र दिल्ली विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनले कमला नगरमा दशैं मनाउन घर जान नपाएकाहरुका लागि टिका जमरा कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा सीए अध्ययनरत विद्यार्थीसहित दिल्लीका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुका साथै प्रवासी नेपालीहरुले टिकाजमरा र आशिर्वाद ग्रहण गरेका छन् । लक्ष्मी नगरमा गरिएको समारोहमा बोल्दै हातेमालो नेपाली विद्यार्थी समूहका अध्यक्ष रोशन यादवले अध्ययनका कारण घर जान नसक्ने विद्यार्थीहरुका लागि हरेक वर्ष टिकाजमराको कार्यक्रम गर्दै आएको बताए ।
टीका कार्यक्रममा दिल्लीको कडकडडुमास्थित पशुपतिनाथ मन्दिरका पुजारी पण्डित यदुनाथले घर जान नपाएका विद्यार्थीहरुलाई टिका जमरा प्रदान गर्न हरेक वर्ष आउने गरेको बताए । समारोहमा उपस्थित नेपाली विद्यार्थीहरुलाई सेलरोटी सहितको मौलिक भोजन गराइएको थियो भने उनिहरुले नाँचगान गरि शुभकामना साटासाट गरेका थिए ।