२२ असोज, दमौली ।
चितुवाको आक्रमणबाट तनहुँको भानुमा मंगलबार साँझ एक बालकको ज्यान गएको छ ।
दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट भानु नगरपालिका–१ जामुनेगैह्रा चार वर्षीय आशिष बानियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितुवाको आक्रमणबाट घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ ।
यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । घटनापछि चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् ।