२३ असोज, जनकपुर ।
धनुषामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जनभन्दा बढी मोटरसाईकल र ३ वटा साइकलमा आगजनी भएको छ ।
धनुषाको पुर्वी क्षेत्रमा पर्ने जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ स्थित प्रखे महुवामा पार्किङ गरि राखिएको एक वडाअध्यक्षको मोटरसाइकलसहित ९ वटा मोटरसाइकल र ३ वटा साईकलमा अज्ञात समुहले गरेको आगलगी हुँदा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।
आज विहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।
सो आगलागीमा जनकन्दिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ । सो घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरी निरीक्षक थापाले बताए ।
सार्वजनिक स्थलमा पार्किङ्ग गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकलहरु जलेर नष्ट भएको छ भने बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।
घटनामा ३ वटा साइकल समेत जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भई रहेको जनाएको छ ।