२३ असोज, काठमाडौं । छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु, पूर्व परराष्ट्र मन्त्रीहरु तथा विदेश मामिलाका जानकारहरुसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री ओलीले भ्रमणको दुई दिनअघि विहीबार आफ्नै निवासमा छलफल कार्यक्रम आयोजना गरेका हुन् । प्रधानमन्त्री ओलीले सिको भ्रमणका विषयमा नेपालको तर्फबाट के गर्ने भनेर सहभागीहरुसँग सुझाव मागेका थिए ।
छलफलमा सहभागीहरुले चीनसँग ऋणभन्दा लगानीमा जोड दिनुपर्ने सुझाव दिएका थिए । सुझाव दिने क्रममा सबैले चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु सुखद् भन्दै भ्रमण स्वागतयोग्य भएको बताएका थिए ।
सर्वदलीय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले सिको भ्रमणमा दुई मुलुकबीच सुपुर्दगी सन्धी नहुने प्रष्ट पारेका हुन् । बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘चीनसँग सुपुर्दगी सन्धी के हुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।
यस्तै पूर्वमन्त्री तथा नेकपाका नेता भीम रावलले पनि भारतसँग हुने भनिएको सुपुर्दगी सन्धीको बारेमा उल्लेख गर्दै तेस्रो मुलुकका नागरिकलाई पनि यस अन्तरगत ल्याउन पर्छ भन्दा हस्ताक्षर हुन नसकेको बताएका थिए । सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिको भ्रमण सबै मिलेर सफल बनाउनुपर्ने बताएका थिए ।
यस्तै प्रधानमन्त्री ओलीले भ्रमणको विषयमा सबैलाई जानकारी गराउँदै भ्रमणलाई सफल बनाउन अनुरोध गरेका थिए । बालुवाटारमा भएको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।
त्यस्तै, पूर्व परराष्ट्रमन्त्रीहरु महत, सुजाता कोइराला, रमेशनाथ पाण्डे, नारायणकाजी श्रेष्ठ, भीम रावल, प्रकाशशरण महतलगायत सहभागि रहेका थिए ।