२३ असोज, एजेन्सी । पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले र ओमानलाई ६५ रनको झिनो विजय लक्ष्य दिएको छ ।
ओमान क्रिकेट संघको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्याे । नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भए जसका कारण नेपालले दुई रनमा पहिलो विकेट खेर फाल्यो ।
त्यसपछि नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि आउट भए । उनी ५ रनमा पेभेलियन फर्किए । लगत्तै क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीपनि रनआउट भएपछि नेपालले ३६ रनमा तेस्रो विकेट गुमायो । दिपेन्द्र र आरिफ शेखबीच तालमेल मिल्न नसक्दा दिपेन्द्र १० रनमा आउट भए ।
त्यसको लगत्तै विनोद भण्डारी पनि चार रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । स्कोरबोर्डमा ४२ रन हुँदा सन्दिप जोरा खाता खोल्न नपाउँदै आउट भए ।
त्यसपछि छैटौँ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट हुँदा स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन थियो । सातौँ विकेटका रुपमा करण केसी र सोमपाल कामी केहि टिक्ने प्रयास गरेका थिए । तर करण ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो ।
त्यसपछि दशौँ ओभरमा नेपालको स्कोर ६१ हुँदा सोमापाल कामी आउट भए । लगत्तै एघारौँ ओभरको पहिलो बलमा सन्दीप लामिछाने नवौँ विकेटका रुपमा आउट भए ।
लामिछानेलाई पहिलो बलमा आउट गरेका ओमनका आमिर कलीमले त्यसै ओभरको अन्तिम बलमा अविनाश बोहराको पनि विकेट लिएपछि नेपाल निर्धा्रित २० मध्ये ११ ओभरमात्र खेल्दै अल आउट भयो ।
बलिङतर्फ ओमानका आमिर कलीमले ५ विकेट लिए भने बिलाल खानले २ तथा मोहम्मद नदीम र खवर अलीले एक एक विकेट लिए ।