२४ असोज, एजेन्सी । कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ को छनोट खेलमा जोर्डन र कुवेतले बराबरी खेलेका छन् ।
नेपाल रहेको समूह ‘बी’मा रहेका दुई टोलीले बिहीबार राति गोलरहित बराबरीमा चित्त बुझाएका हुन् । यही समूहको खेलमा बिहीबार नेपाललाई अष्ट्रेलियाले ५-० ले हराएको थियो ।
समूहको चौथो खेलमा नेपालले आउँदो मंगलबार जोर्डनसित उसैको मैदानमा खेल्नेछ ।
नेपालले जारी विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७-० को हार भोगेको थियो । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो ।
यसैविच, विश्वकप छनोट अन्तर्गत एसियाली महादेशका अरु खेलहरुमा जापान, कतार, सिरिया, युएई, दक्षिण कोरिया, उज्वेकिस्तान, इराक, चीन, ओमान, भियतनाम, कीर्गिस्तान, तुर्कमेनिस्तान, साउदी अरब, र इरान विजयी भएका छन् ।
समूह ‘एच’मा दक्षिण कोरियाले दक्षिण एसियाली टोली श्रीलंकालाई ८-० ले पराजित गर्दा समूह ‘एफ’मा जापानले मंगोलियामाथि ६-० को जित निकाल्यो ।
यसैगरी, समूह ‘डी’मा उज्वेकिस्तानले यमनलाई ५-० ले हराउँदा समूह ‘ए’मा चीनले कमजोर प्रतिद्वन्द्वी ग्वामलाई ७-० ले पराजित गर्यो । समूह ‘सी’मा इरानले बिहीबार रातिको फराकिलो जित निकाल्ने क्रममा कम्बोडियालाई १४-० को विशाल गोल अन्तरले पाखा लगायो ।
यही समूहको अर्को खेलमा इराकले हङकङलाई २-० ले पराजित गर्यो । बिहीबार राति नै समूह ‘ए’मा सिरियाले माल्दिभ्सलाई २-१ ले हरायो । समूह ‘जी’मा युएईले इन्डोनेसियालाई ५-० ले पराजित गर्यो ।
समूह ‘ई’मा कतारले बंगलादेशलाई २-० ले, समूह ‘जी’मा भियतनामले मलेसियालाई १-० ले, समूह ‘एफ’मा कीर्गिस्तानले म्यानमारलाई ७-० ले, समूह ‘ई’मा ओमानले अफगानिस्तानलाई ३-० ले, समूह ‘एच’मा लेबनानले तुर्कमेनिस्तानलाई २-१ ले र समूह ‘डी’मा साउदी अरबले सिंगापुरलाई ३-० ले हरायो ।