२४ असोज, काठमाडौं ।
नेपाली टोली भुटानमा जारी महिला साफ यू १५ च्याम्प्यिनसिपमा बंगलादेशसँग २–१ ले पराजित भएको छ । यो सँगै नेपाली टोली च्याम्प्यिनसिपबाट लगभग बाहिरिएको छ । च्याम्पियनसिपमा नेपालको यो लगातार दोस्रो हार हो ।
भारत र भुटानको खेलको नतिजा नेपालले अघिल्लो चरणको यात्राको निर्भर रहन्छ । त्यो खेलमा भुटान पराजित भए वा बराबरीमा रोकिए नेपाल बाहिरिनेछ । भुटान जितेको खण्डमा भने नेपालको पनि अघिल्लो चरण जाने गणितिय सम्भावना बाँकी रहन्छ । सो खेलमा भुटान पराजित भए वा बराबरीमा खेल टुंगिए अन्तिम दुई खेलअघि नै भारत र बंगलादेश फाइनल पुग्नेछन् । यू १५ महिला च्याम्पियनसिपमा नेपालले अहिले सम्म बंगलादेशलाई हराउन सकेको छैन ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा पूर्व विजेता बंगलादेशका लागि ११ औं मिनेटमा साहेदा अख्तरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । समसुन्नहार ले पनोल्टीमा गोल गरिन् । ६४ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपालका लागि अन्तर घटाइन् । तर त्यसपछि गोल हुन सकेन ।
राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ । नेपाली टोली पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको थियो । अघिल्ला दुवै संस्करणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । दुई वर्षअघि भएको पहिलो संस्करणको विजेता बंगलादेश गत वर्ष उपविजेता बनेको थियो ।