२४ असोज, विराटनगर ।
यस बर्षको १ लाख धनराशीको छैटौ“साधनादेवी प्रहरी पराक्रम पुरस्कार”३ जना प्रहरी जवानलाई संयुक्त रुपमा प्रदान गरिएको छ । प्रदेश १ भरिबाट उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान द्धय खेमनाथ भट्टराई, सुरेन्द्र माझी र जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत मुकुन्द माझीलाई ६४ आँै प्रहरी दिवसका अवसरमा शुक्रबार प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।
प्रहरी जवान द्धय भट्टराई र माझीले अपराध कार्यमा संलग्न व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै विध्वंसात्मक एवं अवाञ्छित गतिविधीमा संलग्न व्यक्तिहरुलाई अत्यन्त बहादुरी र पराक्रमका साथ कानूनी दायरामा ल्याउन बिषेश भूमिका निर्वाह गरेका थिए । यस्तै जवान मुकुन्द माझीले कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही बाढी पहिरो जस्ता विपद्को अवस्थामा अत्यन्त बहादुरीका साथ आफ्नो जिउ ज्यानको पर्वाह नगरी उद्धार कार्यमा भुमिका निभाएका थिए ।
उनीहरुको कामबाट प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा नेपाल प्रहरी प्रति विश्वास अभिवृद्धि गर्ने तर्फ प्रसंशनीय कार्य गरेकोले उनीहरुको कामको उच्च मुल्याङ्कन गर्दै पुरस्कृत गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । उनीहरुलाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठ र प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले संयुक्तरुपमा १ लाखको चेक तथा प्रशंसा–पत्र प्रदान गरेका थिए ।