२५ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन गर्ने तयारी गरिरहेको आशंका २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।
काठमाडौंको वौद्ध, स्वयम्भु लगायतको स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो। यद्यपि पक्राउ परेकाहरुले प्रदर्शनको तयारीबारे भने केही बताएका छैनन् ।
उनले भने,‘ पक्राउ गरिएकाहरु बाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ।’ त्यस्तै उनीहरुको साथबाट टिबेटिएन झण्डा समेत भेटिएको छ । फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सीको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरी तैनाथी बढेको छ । फ्रि तिब्बतको प्रदर्शन हुन सक्ने भन्दै ती गुम्बाहरुमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ ।