एजेन्सी,असोज २५
केन्याका म्याराथन धावक एलिउड किप्चोगेले ४२.१९५ किलोमिटर दुरी १ घन्टा ५९ मिनेट ४०।२ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।शनिबार भिएनामा आयोजित विशेष म्याराथनमा उनले किर्तीमान कायम गरेका हुनु । यो सँगै उनी २ घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका छन् ।
रियो ओलम्पिक २०१६ को स्वर्ण पदक विजेता समेत रहेका किप्चोगेकै नाममा यसअघि पनि विश्व किर्तिमान रहेको थियो । उनले सन् २०१८ को बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए । शनिबार विशेष रुपमा किप्चोगेले म्याराथनको दुरी २ घण्टाभन्दा कम समयमा पूरा गर्ने लक्ष्यसहित नै दौड तय गरिएको थियो ।
यसअघि सन् २०१७ मा पनि किप्चोगेले यसै किसिमको प्रयास गरेका थिए । तर उनले त्यस समय २५ सेकेन्ड ढिला निर्धारित दुरी पूरा गरेपछि कीर्तिमान बन्न सकेको थिएन । यसपटक लक्ष्यमा अझ केन्द्रित देखिएका उनी मानसिक रुपमा पनि बलिया देखिएका थिए ।
शनिबारको दौडमा उनलाई ४१ सारथी धावकले साथ दिएका थिए । हरेक समय उनलाई २ धावकले अगाडी र ५ धावक पछाडी रहेर निरन्तर साथ दिइरहे । उनले म्याराथन पूरा गरेपछि सबै धावक यस कीर्तिमानको महत्त्वपूर्ण पाटो रहेको बताए ।