भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले सहयोग गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले सहयोग गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

२६ असोज, काठमाडौं ।
नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाललाई ‘भूपरिवेष्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राजकीय भ्रमणमा शनिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा सम्बोधन गर्दै दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्ने बताएका छन् ।

राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताए।

नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव साथ–सहयोग दिने बताउँदै सीले केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रपति सीले सम्बोधनका क्रममा चीनले नेपालको आर्थिक विकासको आकांक्षालाई सघाउने र नेपाल पनि त्यसको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने मनसाय व्यक्त गरेका थिए ।

उनले नेपालको विकासमा साझेदारी गर्न चीन तत्पर रहेको र नेपालले पनि ‘अघि सारिएका योजनाहरू पूरा गरेरै छाड्नुपर्ने’ बताए । ‘हामीले बनाएका योजना पूरा गरेरै छाडौं । हामीले चीनमा पनि यस्तै गर्ने गरेका छौं,’ राष्ट्रपति सीले भने ।

उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक सम्बन्ध अझ झाँगिएको बताए।

नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उनले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गरे।

अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि उनले बताए । नेपालले अपेक्षा गरेका योजनाहरूलाई आफ्नो सम्बोधनमा राष्ट्रपति सीले बुँदागत रूपमा उल्लेख गरेका थिए ।

– नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ
– बढी नाकाहरू खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं
– केरुङ–काठमाडौं सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामीसक्रिय हुनेछौं
– अरनिको राजमार्ग सञ्चालनसुनिश्चित बनाई विभिन्न चरणमा
स्तरोन्नतिका लागि सहयोग गर्नेछौं
– हाम्रो साझा हिमालय क्षेत्र रक्षागर्न सदा तत्पर रहनेछौं
– हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं
– चीन र नेपालको सम्बन्धमा समस्याछैन, मित्रता मात्रै छ
– राष्ट्रपति सी

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.