एजेन्सी, असोज २६
नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्टले क्यारेवियन प्रिमियर लिग (सीपीएल)को उपाधि जितेको छ । आइतबार ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा भएको उपाधि भिडन्तमा बार्बाडोसले गुएना अमेजन वारियर्सलाई २७ रनले हरायो ।
बार्बाडोसले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुएनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र जोड्न सक्यो । उसका ओपनर ब्रेन्डोन किंगले सर्वाधिक ४३ रन र निकोलास पुरनले २४ रन जोडे । गुएनालाई सस्तैमा समेट्ने क्रममा रेमोन रिफरले ४ विकेट लिए । त्यस्तै ह्यारी गुर्ने र एस्ले नर्सले पनि २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि सातौं नम्बरमा ब्याटिङमा आएका जोनाथन कार्टरले २७ बलमा ५० रनको विष्फोटक अर्धशतकीय पारी खेलेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै, ओपन जिम्मी चाल्र्सले पनि २२ बलमा ३९ रन जोडे । एलेक्स हेल्सले २८, सकिव उल हसनले १५ तथा एस्नले नर्सले अविजित १९ रन बनाए । कार्टर म्यान अफ द फाइनल चुनिए । यस फाईनल खेलमा सन्दीप भने सामेल थिएनन् । उनी राष्ट्रिय टिमको सिंगापुर र ओमान टूरमा आएका थिए ।