२६ असोज, दमक ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आगलागी भएको छ । आइतबार विहान १० बजे भएको भिषण आगलागीबाट नौघर (छाप्रा) जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थलमा रहेका इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक दलकुमार राईका अनुसार एक वृद्ध शरणार्थी महिलाको घरबाट आगो सल्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
करिब ६५ वर्षिया फुलमाया राईको घरबाट आगो सल्केको जनाईएको छ । उनी एक्लै छाप्रोमा बस्दै आएकी थिइन् । सामान्य घाइते उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दमक, गौरादहलगायत क्षेत्रका दमकले १ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको र अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।