२७ असोज, काठमाडौं । नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज हुने भएको छ । चिनियाँ राष्ट्रपतिको दुई दिने राजकीय भ्रमणका क्रममा चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज वातावरण बनाइदिने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रपतिको भ्रमणपछि प्रकाशित संयुक्त वक्तव्यमा पनि दुवै देशका एयरलाइन्सलाई सिधा उडानका लागि प्रवर्द्धन गर्न दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ ।
वार्ताका क्रममा चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाई चीनका विभिन्न विमानस्थलमा छिटो उडान अनुमति दिन सकारात्मक भएको हो । वार्तामा सहभागी एक सरकारी अधिकारीका अनुसार एयरलाइन्सहरुले मौजुदा आवश्यक प्रक्रिया पूरा गरेमा तत्काल उडान अनुमति दिन कुनै समस्या नभएको चिनियाँ अधिकारीहरूले बताएका थिए ।
हिमालय एयरलाइन्सले यही कात्तिकबाटै बेइजिङको डाक्सिङ विमानस्थलमा उडान सुरू गर्ने तयारी गरेको छ । त्यो सँगै हिमालयले चीनका अन्य आधा दर्जन सहरमा पनि उडानका लागि तयारी तीव्र बनाएको छ ।