२७ असोज, विराटनगर ।
लागुऔषध विक्री वितरण गर्ने मेडिकल सञ्चालकसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध ओसारपसारमा संलग्न इटहरी–२ पशुपति चोक बस्ने शेखर श्रेष्ठका २० वर्षीय छोरा असिम श्रेष्ठ र इटहरी–२ पशुपति चोक स्थित तिरुपति मेडिकलका सञ्चालक मोरङको सुन्दरहरैँचा–४ बस्ने २६ वर्षीय नरेश यादव रहेका छन् ।
गत विहीबार गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैँचा–१० र १२ स्थित पूर्व पश्चिम लोकमार्गमा को १३ प १२७६ नम्बरको अपाची मोटरसाईकलमा सवार श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका श्रेष्ठलाई सोधपुछ गर्दा तिरुपति मेडिकलमा सो लागुऔषध बिक्रीवितरण हुने बताएपछि त्यसका आधारमा मेडिकल सञ्चालकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
सूचनापछि आधारमा मेडिकलमा खानतलासी गर्दा लागुऔषध डाईलेक्स डिसी लेखिएको खाली बोतल २ थान, स्पास्पेन लेखिएको सेतो पत्तामा २ सय १९ ट्याब्लेट खाली,स्पास्मो लेखिएको १९ पिस ट्याब्लेट खाली र सामसुङ जे–२ मोबाईल एक थान बरामद गरिएको अधिकारीले बताए ।

त्यस्तै पक्राउ परेका श्रेष्ठको साथबाट स्पास्पेन ट्याब्लेट १६ सय ७० पिस,क्याटाडोल पचास १६ सय २० पिस,रिमोडोल पचास ६ पिस, हुवाई कम्पनीको मोबाईल एक थान र को १३ प १२७६ नम्बरको अपाची मोटरसाईकल एक थान बरामद् गरिएको छ ।
लागुऔषध नेपाल–भारत पुर्वी नाकाबाट ल्याउने गरेको खुलेको छ । पक्राउ परेका दुवैलाई हिरासतमा लिई अनुसन्धान अगाडी बढाईको प्रहरीले जनाएको छ ।