एजेन्सी, असोज २८
विश्व चर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरमा ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् ।
उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित भएको छ । समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा २–१ गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा नै २–० गोलले पछि परेको पोर्चुगलका लागि खेलको ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै फर्किने संकेत देखाएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा पोर्चुगल हार्न पुग्यो ।
समूह ‘बी’ मा रहेको युक्रेन सात खेलबाट ६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १९ अंकसहित शीर्ष स्थानमा रहंदै युरो कप २०२० मा छनोट भएको छ । पोर्चुगल भने ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर दोस्रो स्थानमा रहेको छ । पोर्चुगललाई छनोट हुन अर्को खेल नै कुर्नुपर्ने भएको छ ।