२८ असोज, काठमडौं ।
विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा आज नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र जोर्डनबीचको खेल अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
यसअघिको खेलमा पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा रोक्ने लक्ष्यमा नेपाल रहेको छ ।
त्यसो त सन् २०११ को जुलाई २३ मा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग उसैको घरेलु मैदानमा ब्यहोरेको ९–० को हारको बदला लिने दाउमा पनि नेपाली टिम छ ।
नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग ७–० को हार ब्यहोरेको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जितसहित ३ अंक बनाएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन रहँदा चौथो स्थानमा नेपाल छ भने पुछारमा चाइनिज ताइपेई रहेको छ ।










