२८ असोज, जनकपुर । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद प्रमोदकुमार साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो। सर्लाहीबाट निर्वा्चित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए।
समयमा जहाज नआएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेका थिए। उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए। सोमबार बिहान ११स्४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए।
व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दुस्ख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका थिए। आक्रोशकै क्रममा भनाभन भएपछि सांसद साहले काउन्टरमा मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ।
अढाइ बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन्। तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए।
बुद्ध एयरको काउन्टरमा यस्तो घटना भएपछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको छ । उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।