२८ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानी समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी हुन् । गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण बन्न गएको राष्ट्रपति भण्डारीको भनाई छ ।
‘नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रमहरु ‘समृद्ध नेपालः सुःखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित छ,’ मंगलबारबाट काठमाडांैमा सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन ,‘नेपालमा विकसित हुँदै गईरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई हार्दिक आह्वान गर्दछु ।’
उनले गैर आवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि स्मरण गराइन् । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गरे ।
उनले गैर आवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैर आवासीय नेपाली परिचय पत्र’ वितरण गर्ने पनि जानकारी दिए । २५ सय भन्दा बढि प्रतिनिधिहरु सहभागी रहेको तीन दिने सो विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।