घडियाल गोही प्रजननमा समस्या, सुरक्षित भएन वासस्थान

घडियाल गोही प्रजननमा समस्या, सुरक्षित भएन वासस्थान

२९ असोज, चितवन ।

नारायणी र राप्ती नदीको प्रतिकूल अवस्थाका कारण प्राकृतिक रुपमा घडियाल गोही प्रजननमा समस्या देखिएको छ । हरेक वर्ष जसो राप्ती र नारायणी नदीमा घडियाल छाडिए पनि प्राकृतिक वासस्थान सुरक्षित नहुँदा त्यसको सन्तोषजनक वृद्धी हुन नसकेको विज्ञहरु वताउँछन् ।

नारायणी र राप्ती नदी घडियालको प्रमुख वासस्थान मानिन्छ । राप्ती र नारायणी नदीमा भर्खरै घडियाल गोहीको गणना सकिएको छ । यसको औपचारिक घोषणा नगरिए पनि सन्तोषजनक वृद्धि भने नभएको गणकहरु वताउँछन् । राप्ती नदीमा हालसालै ७२ वटा घडियाल गोही छाडिएको छ ।

“घडियाल प्रजनन् केन्द्रमा हुर्काएका घडियाल नदीमा छाड्ने क्रम जारी छ, तर त्यो प्राकृतिक रुपमा वचाउन गारो भै रहेको छ”, चितवन राष्ट्रि निकुञ्जका प्रवक्ता नुरनाथ अर्यालले भने, “भरखरै सकिएको घडियाल गणनामा विगतको तुलनामा नदीमा वढेको देखिए पनि त्यो सन्तोष जनक भने छैन ।”

संकटापन्न सूचिमा रहेको घडियाललाई निकुञ्जले नै गोही प्रजनन् केन्द्र स्थापना गरेर देशका विभिन्न नदीहरुमा छाड्दै आएको छ । घडियाल प्रजनन् केन्द्र हेर्ने अधिकृत बेदवहादुर खड्काका अनुसार प्रजनन् केन्द्रले हुर्काएका एक हजार ३१८ गोही देशभरीका विभिन्न नदीमा छाडिएको छ । जस मध्ये नारायणीमा ३९९ र राप्तिमा ६३८ गोही छाडिएका हुन् । तर, यो नदीमा छाडिएका तुलनामा ज्यादै न्यून मात्रै गोही अहिले नदीमा फेला परेको छ । “गोहीका लागि प्राकृतिक वासस्थानमा केही समस्या छ त्यो नहटाए सम्म नदीहरुमा गोही हुर्काउन गारो छ”, खड्काले भने ।

नदीमा माछा मार्दा गोही अड्किएर वाहिर फालिन्छ भने नदी प्रदुषण हुदा त्यहाँ रहेका जलचरहरुलाई असर गरिरहेको छ । विशेष त मानवीय गतिविधीले नै नदीहरुमा जलचर समस्यामा परेका हुन् । नारायणी र राप्ति नदीमा भै रहेको प्रदुषणले नदीको पानीमा अक्सिजनको मात्रा कम हुदा समस्या भएको वताइन्छ । जसको प्रत्यक्ष असर घडियालमा देखिन्छ ।

नदी किनारमा रहेका उद्योगहरुको प्रदुषित पानी सोझै नदीमा मिसाइनुले नदी प्रदुषणमा असर गरिरहेको छ । यसका अलवा नदी सगै रहेका ठूल ठूला शहर तथा वस्तिहरुको ढल सिधै नदीमा मिसाइदा पनि नदी प्रदुषण भैरहेको जानकारहरु वताउँछन् ।

भाले गोहीको अभावले पनि नदीमा प्राकृतिक रुपमा गोही प्रजनन्मा समस्या भएको हो । अहिललेको गणनामा राप्ती र नारायणी नदीमा तीनवटा भाले घडियाल गोही फेला परेको बताइन्छ । यसअघि २०७५ पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो ।

भालेले धेरैलाई प्रजनन् गराउन सक्ने भएकाले पनि अब केही सुधार हुने विश्वास निकुञ्जको छ । तर, हरेक वर्ष आइरहने वाढीले वगाएर भारत पुगेका गोहीलाइ फर्काउन नसक्दा पनि नारायणी र राप्तिमा गोहीको संख्या सन्तोष जनक नदेखिएको निकुञ्जका अधिकारीहरु वताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेल केही वर्ष अघि भन्दा अहिले घडियाल संरक्षणमा जनचेतना जागेको भएपनि त्यो प्रयाप्त नभएको स्वीकार्छन ।

“अघिल्लो गणनाका तुलनामा यो गणनामा नारायणी र राप्तीमा गोहीको संख्या बढेको छ”, पौडेलले भने-“गणनाको काममा केही प्राविधिक कुरा बाँकी रहेकाले गणनाको अन्तिम नतिजा भने वैशाख पहिलो हप्ता मात्रै सार्वजनिक गरिने छ ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरसँग मिलेर गोहीको गणना गरेका थिए । यसअघि सनः २०१६ मा गरिएको गणनामा राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए । तर, यो सख्या अहिले केही वढे पनि त्यो सन्तोषजनक मान्न सकिदैन ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.