२९ असोज, काठमाडौँ ।
म्यानमारको चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा म्यानमार गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक शीतल निवासदेखि एयरपोर्ट हेलिकप्टरमा पुगेकी थिइन्। म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान शीतल निवासबाट एयरपोर्ट हेलिकप्टरमा पुगेकी हुन्।
ट्राफिक व्यवस्थालाई ध्यानमा दिँदै स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको एक सुरक्षा अधिकारीले जानकारी दिए।
नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि हेलिकोप्टर खरिद गरेको थियो। एक अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुनेछ।