२९ असोज, काठमाडौं ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख वा उपसभामुख पद प्रतिपक्षी दललाई दिनुपर्ने जिकिर गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका वरिष्ठ नेता पौडेलले दुवै पद नेकपाले लिन्छ भने प्रतिवाद हुने बताए । संविधानले गरेको व्यवस्थाअनुसार सभामुख वा उपसभामुख प्रतिपक्षी दललाई दिनुपर्ने उनको तर्क थियो।
नेता पौडेलले संघर्षबाट हासिल गरेको परिवर्तन जोगाउन सँगै बढ्नुपर्ने पनि सुनाए। हामी सँगै लडेका, सँगै जेल परेका, सँगै अश्रु ग्यास खाएका, सँगै व्यवस्था ल्याएका, सँगै संविधान बनाएका,ु पौडेलले भने, यस्ता कुराहरुले हामी नजिक छौं।
उनले राजनीतिलाई सैद्धान्तिक बहसमा लैजानुपर्ने पनि धारणा व्यक्त गरे। नेता पौडेलले राजनीतिलाई सिद्धान्त र निष्ठापूर्वक पालन गर्नुपर्ने बताएका थिए। राजनीतिलाई सम्मानित बनाउनुपर्ने भन्दै उनले त्यसमा चुनौती भने रहेको जनाए।
उनले भने, सिद्धान्तको बहस गरौं। यसले विकृति र विसंगतीको अन्त्य हुन्छ।