२९ असोज, संखुवासभा ।
संखुवासभाको भोटखोला गाउँपालिका–२, घट्टेखोलामा पाँच किलो सुन हित पक्राउ परेका तोप्चेन भोटेलाई प्रहरीले सार्वजनिक गरेको छ ।बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले पत्रकार सम्मेलन गरी भोटखोलाको घट्टेखोलामा सुनसहित पक्राउ परेको तोप्चेन भोटेलाई सार्वजनिक गरिएको हो ।
मकालु गाउँपालिका–४, स्थायी घर भई हाल खाँदबारी–१ बस्दै आएका २६ वर्षीय भोटेलाई प्रहरीले सोमबार ५ किलो सुनसहित पक्राउ गरेका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक(डीएसपी) मिमबहादुर लामाका अनुसार चीनबाट किमाथांका नाका हुँदै अवैध रुपमा रिदाकको बाटो हुँदै खाँदबारीतर्फ सुन लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक गर्ने क्रममा भोटे पक्राउ परेका हुन् ।
सुराकीको आधारमा चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेक गर्दा झोलाभित्र विभिन्न सामानका साथै भित्री भागमा लुकाएर ५ थान सुन फेला पारेको उनले बताए । पक्राउ परेका भोटेलाई मंगलबार राति मात्रै सदरमुकाम खाँदबारी ल्याइएको हो । बरामद भएको सुनलाई खाँदबारी ल्याएर सुनचाँदी व्यबवसायी संघमा चेक गरिएपछि मात्रै सुन नै भएको प्रमाणित भएको डीएसपी लामाले बताए ।डीएसपी लामाले भने ‘बरामद भएको सुनको एउटा ढिक्का एक हजार ग्राम अर्थात एकरएक केजी रहेका र उक्त सबै सुनको अहिलेको बजार मूल्यअनुसार तीन करोड सात हजार पाँच सय रुपैयाँ हुन आउने रहेछ’।
भोटेलाई थप कानुनी प्रक्रिया बढाउन राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइने तयारी भएको प्रहरीले जनाएको छ । चीनबाट खाँदबारी हुँदै लुकीचोरी विराटनगर, काठमाण्डौतर्फ सुन लैजाने अनुमान गरिएको प्रहरीको भनाइ छ ।
संखुवासभामा यति ठूलो परिणाममा सुन भेटिएको यो पहिलो घटना हो । त्रिदेशीय लिंकको रुपमा रहेको भारतको जोगबनी–विराटनगर हुँदै खाँदबारीबाट किमाथांका नाकाबाट चीनको तिब्बत निस्कने सबैभन्दा छोटो बाटो नै कोशी–ल्हासा राजमार्ग मानिन्छ ।