लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने दायित्व सरकारको होः मन्त्री भट्टराई

लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने दायित्व सरकारको होः मन्त्री भट्टराई

३० असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधानिक अंगहरुकै व्यवस्था गरेको पनि स्पष्ट पारे । उनले सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नु परेको पनि स्मरण गराए ।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले नयाँ पुस्तालाई समेत हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्ने गरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरी त्यसको खोज र अनुसन्धानको कामलाई निरन्तरता दिईरहेको पनि बताए ।

‘अझै पनि कतिपय जातिहरुको पहिचान हुन बाँकि होला, कतिपय हाम्रा भाषाहरु लोप हुन लागेका होलान,’ मन्त्री भट्टराईले भने, ‘तिनीहरुको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व सरकारको हो । ’

त्यस अवसरमा मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले सरकारले सांस्कृतिक सम्पदाहरुको पनि संरक्षण हुने गरी ‘सांस्कृतिक नीति’ बनाएकोमा खुसी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

यसैबीच, अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो । काठमाडौंको प्रर्दशनीमार्गस्थित पर्यटन बोर्डको गेटबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, रत्नपार्क हुँदै जमलस्थित राष्ट्रिय नाचघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.