३० असोज, बाँके ।
नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको ब्यारेक भित्रै प्रशिक्षार्थी महिला प्रहरी जवानमाथि बलात्कार गर्न खोजेको आरोपमा प्रहरी नायव निरीक्षक (सई) बमबहादुर राना पक्राउ परेका छन् ।
पीडित महिलाले २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । २७ गते नै आरोपीलाई प्रहरीले पक्राउ गरी ‘जबर्जस्तीकरणी उद्योग’मा मुद्दा चलाएको छ ।
पीडित र पीडकको नाता साली–भेना रहेको जिप्रका बाँकेका प्रवक्ता एवं डिएसपी शिव सिंहले बताए । उनका अनुसार पीडित महिलाले दिएको लिखित बयान अनुसार तालिम अवधिभर प्रशिक्षार्थीलाई मोबाइल चाउने अनुमति छैन ।
घरमा आमा बुबालाई फोन गर्न आउ भन्दै सईले पीडित महिलालाई ब्यारेकको कोठामा बोलाएर कोठाभित्र पस्ने बित्तिकै कोठाको चुक्कुल लगाएर हात समाउन खोजेको पीडितको निवेदनमा उल्लेख छ ।
अनुसन्धानमा पीडित महिला प्रहरीको परिवारले उनको रेखदेखको जिम्मेवारी सईलाई दिएको देखिएको छ । ‘परिवारले घटनामाथि विश्वास नै गरेका छैनन्,’ उनले भने, ‘हामीले पीडितको उजुरी पछि अनुसन्धान थालेका छौं ।’