३० असोज, काठमाडौँ ।
क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जीत निकालेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै क्याट क्विन्स काठमाडौंले पहिलो जीत निकालेको हो ।
पोखरा पल्टनका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन तथा विन्दु रावलले १३ रन जोडिन् । अन्य खेलाडीले भने दोहोरो अंक जोडन सकेनन् । पोखरा पल्टनलाई सस्तैमा समेट्न क्याट क्विन्स काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २/२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौंले २० ओभरमा ५ बिकेट गुमाएर १५२ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ८३ रनको अर्धशतकीय इनिङस खेलिन् । ६७ बलको सामना गरेकी रुविनाले १४ चौका र २ छक्का प्रहार गरिन् । त्यसैगरी काठमाडौंका लागि रोमा थापाले १९ शोभा आलेले १२ तथा ईश्वरी विष्टले अबिजित १० रन जोडेका थिए ।
बुधबारबाट सुरु भएको सो प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछन ।