३० असोज, काठमाडौँ ।
ओपनर तथा विकेटकीपर ज्योती पाण्डेले अर्ध शतक प्रहार गरेसँगै काठमाडौमा जारी वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा टस हारेर ब्याटिङ विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गदै डब्लूसिएलमा सुखद सुरुवात गरेको हो ।
१ सय २३ रनको विजयी लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरको जितमा ओपनर ज्योती पाण्डेले सर्वाधिक ६५ रनको योगदान दिइन् । १३ ओभरको पाँचौ बलमा क्याच आउट हुनुअघि ज्योतीले ४३ बलमा १० चौका १ छक्का प्रहार गरिन् । ज्योतीले २५ बलमै अर्ध शतक पुरा गरेकी थिन् । पहिलो विकेटका लागि ज्योती र सोनु खड्काले ९।१ ओभरमा ८३ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।
रन आउट हुनुअघि सोनुले २६ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । लक्ष्मी चौधरी ११ ओभरको पहिलो बलमा शून्यमा रन आउट हुन पुगिन् । अस्मिना कर्मचार्य १३२ बलमा चौका सहित १२ रनमा अविजित रहिन् ।ललितपुरका लागि सम्झना खड्काले २ र करुणा भण्डारीले १ विकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन जोडेको थियोे । ममता चौधरीले सर्वाधिक २८ रन जोडिन् । १७ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि उनले २४ बलमा ३ चौका प्रहार गरिन् । ललितपुरका ५ खेलाडी रन आउटको शिकार बन्न पुगे । दोस्रो ओभरको पाँचौ बलमा ओपनर सरिता दिसवा मगर १ रनमा रन आउट भइन् ।
कप्तान नेरी थापा पाँचौ ओभरको चौथो बलमा ४ रनमा आउट हुन पुगिन् । नवौं ओभरको अन्तिम बलमा सवनम राइले ओपनर रोशनी बोहरालाई ९ रनमा आरती बिडारीबाट क्याच आउट गराएपछि ललितपुर दबाबमा परेको थियो ।
दशौं ओभरको पाँचौ बलमा शान्ती चौधरी पनि ९ रनमा रन आउट हुन पुगिन् । ११ ओभरको अन्तिम बलमा कविता जोशीलाई आरती बिडारीले १ रनमा बोल्ड आउट गरेपछि ललितपुर ४७९५को कमजोर अवस्थामा पुगेको थियो ।
तल्लोक्रममा करुणा भण्डारीले १८ बलमा समान १ चौका र छक्का सहित २१ रन जोडिन् । सम्झन खड्का र कृती सेन समान १३ रनमा अविजित रहे । विराटनगरका लागि सवनम राइ र आरती विडारीले १–१ विकेट लिए । अब विराटनगरले शुक्रबार पोखरा पल्टनसँग खेल्ने छ भने ललितपुरले चितवन राइनोजको सामना गर्ने छ ।