२ असोज, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि सुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार वर्षात्का कारण निगरानी पु¥याउन कठिन भएका स्थानमा खानतलासी अभियान तीव्र पारिएको छ । सोही क्रममा खानतलासी गर्दा असोज २९ गते गैँडाको अस्थिपञ्जर भेटिएको हो ।
उनका अनुसार गैँडाका खाग, खुरलगायतका अङ्गहरु सुरक्षित रहेका छन् । खाग ठूलो भएकाले भाले गैँडा भएको अनुमान गरिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएयता कालगतिका कारण मृत गैँडा भेटिएको यो तेस्रो हो ।
वर्षातको समयमा बाटो अवरुद्ध हुने भएकाले निकुञ्जको पहुँच सबै ठाउँमा पुग्न कठिन हुन्छ । वर्षात सकिएसँगै बाटो बनाउँदै निकुञ्जले संवेदनशील क्षेत्रहरुमा गस्ती गर्ने गर्दछ । रुपाखेतीले अहिले निकुञ्जका ठाउँ–ठाउँमा खानतलासी कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।
पूरै निकुञ्जलाई खानतलासी गर्ने तयारी निकुञ्ज प्रशासनको रहेको छ । निकुञ्जमा नेपाली सेना, निकुञ्जका कर्मचारी र उपभोक्ताका विभिन्न समितिमार्फत सुरक्षा दिने गरिएको छ । यस निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका लागि प्रख्यात रहेको छ । यसै आर्थिक वर्षको चैतको पहिलो साता गैँडा गणनासमेत गरिँदैछ ।(रासस)