३ कात्तिक, काठमाडौँ ।
क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग टि २० प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।
कप्तान रुविना क्षेत्री बेलवासीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदै अविजित अर्धशतक प्रहार गरेपछि उसको जित सुनिश्चित भएको हो । काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय पाँच रन बनायो । उसका चार खेलाडीलेमात्र दोहोरो अंक जोड्न सके । जसमा रोशनी बोहोराले सर्वाधिक २९ रन बनाउँदा कप्तान नेरी थापाले २२ तथा ममता चौधरीले १५ रन बनाइन् ।
यस्तै गिता गोसाईले १३ रन थपिन् । २४ रनमा पहिलो विकेट गुमाएको ललितपुरले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा ९७ रनमा पाँच विकेट खेर फालेको थियो ।
क्याट क्विन्सको जितमा कप्तान तथा ओपनर रुविना ५२ बलमा ९ चौका र १ छक्का सहित ५९ रनमा अविजित रहिन् । रुविनाले ४६ बलमा डब्लूसिएलमा आफ्नो दोस्रो अर्धशतक पुरा गरिन् ।
यस अघि रुविनाले पोखरा पल्टन विरुद्ध ८३ रनको अविजित उत्कृष्ट इनिङ खेलेकी थिइन् ।
यो जितसँगै क्याट क्विन्सले चार खेलमा छ अंकका साथ प्लेअफको यात्रा पक्का गरेको छ भने ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ ।