एजेन्सी, कात्तिक ४
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल बराबरीमा टुंगिएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा यनाईटेड र लिभरपुलको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
लिभरपुलले खेलको अन्तिम समयमा गोल गर्दै हार टारेको हो । यससँगै लिभरपुलले जारि सिजन शत प्रतिशत जितको सिलसिलालाई भने निरन्तरता दिन सकेन । लगातार १८ औं लिग जितको लक्ष्यमा रहेको लिभरपुलले अंक बाँड्दै अपराजित यात्रालाई भने निरन्तरता दिएको छ ।
खेलको ३६ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ड्यानीएल जेम्सको क्रसलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा नै लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयअनुसार उक्त गोल ह्याण्डबल भएका कारण मान्य हुन सकेन ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरपुलले गोल फर्काएको थियो । एन्डी रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एडम लाल्लानाले बराबरी गोल फर्काएका थिए ।
लिभरपुल प्रिमियर लिगमा ९ खेलमा २५ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक रहेको छ । म्यानचेस्टर युनाइटेड ९ खेलमा १० अंकसहित १३ औं स्थानमा रहेको छ ।