५ कात्तिक, विराटनगर ।
प्रहरी चौकी नागीथर्पु पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक भिमराज थेवे प्रदेश १ को असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
नागरिकलाई सुरक्षा अनुभुत हुनेगरी विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै कर्तव्यपथमा तल्लीन रहेको र हत्या जस्तो जघन्य अपराधको घटनामा फरार अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन सफल उनलाई कार्यसम्पादनको आधारमा सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।