दलितभन्दै गालीगलौच र कुटपिट गर्ने वडा सदस्य पक्राउ

दलितभन्दै गालीगलौच र कुटपिट गर्ने वडा सदस्य पक्राउ

७ कात्तिक, पाल्पा ।
दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका ६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका ६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो।

जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो। विष्टलार्ई बुधवार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी कुराकानी गर्ने विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए। त सार्की डाङ्ग्रालाई के को पैसा भन्दै कुटपिट गरेको प्रहरीको दाबी छ। कुटपिटबाट नेपालीको आँखा, घाँटी र शरीरका विभिन्न भागमा चोट लागेको छ।

जनप्रतिनिधि विष्टले आफूले नेपालीलाई कुटपिट गरेको स्वीकार गरिसकेका छन्। विभिन्न राजनीतिक दलले घटनालाई मिलापत्रमा टुङ्ग्याउन खोजेपछि पीडित नेपालीले दोषीउपर कारवाही हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका हुन्। (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.