पूर्वसांसद गायत्री साहद्वारा मेडिसिटी अस्पतालविरूद्ध अदालतमा मुद्दा दायर

पूर्वसांसद गायत्री साहद्वारा मेडिसिटी अस्पतालविरूद्ध अदालतमा मुद्दा दायर

७ कार्तिक, काठमाडौं । पूर्वसांसद गायत्री साहले ललितपुरस्थित मेडिसिटी अस्पतालविरूद्ध १० करोड क्षतिपूर्ति माग्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेकी छिन् ।

मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरका कारण आर्थिक, मानसिक र शारीरिक क्षति भएको भन्दै उनले असोज २८ गते मुद्दा दायर गरेकी हुन् । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० बमोजिमको क्षतिपूर्ति माग गर्दै साहले मुद्दा दायर गरेको अदालतले जनाएको छ ।

साहले अस्पतालले गलत रिपोर्ट दिएका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेको र त्यसको जीवनभरको उपचार खर्च भन्दै सो बराबरको रकम क्षतिपूर्तिस्वरूप मागिएको स्रेस्तेदार नगेन्द्र कालाखेतीले बताए ।

उक्त मुद्दालाई अदालतले प्रक्रियामा लगेको छ । पेशीमा भने चढिसकेको छैन ।
साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी थिइन्। तर, शारीरिक विकास नहुने किसिमको ‘डाउन सिन्ड्रोम’ शिशु जन्मिएपछि उनले लामो समयसम्म बच्चा अस्पतालबाट लगिनन् ।

उच्च अदालत पाटनले आदेश दिएपछि उनले बच्चालाई घर लगेकी छिन्। तर, नियमित उपचार खाँचो रहेको भन्दै उनले बच्चालाई कुनै बेला अस्पताल लैजानुपर्ने बताएकी छिन् ।

गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको रिपोर्ट दिइएको दाबी साहको गरेकी छन् । तर, जन्मँदा ‘डाउन सिन्ड्रोम’ देखिएपछि उनले अस्पताल र डाक्टरले लापरबाही गरेको आरोप लगाउँदै आएकी छिन् । जीवनभरको उपचारको ग्यारेन्टी माग्दै बच्चा नलगेपछि मेडिसिटी र साहबीच लामो समयसम्म विवाद रहँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.