७ कात्तिक, काठमाडौँ ।
नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिष्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन् । नेपाल वित्तिय संस्था कर्मचारी संघले बडा दशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा विहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले कम्युनिष्ट सत्ता निर्माण गर्ने सरकारको कार्यशैलीको प्रतिकारका लागि एकजुट हुनपनि आव्हान गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार बहुमतको आधारमा आफूलाई कम्युनिष्टीकरण गर्ने कोशिसमा लागेकाले त्यस तर्फ कांग्रेस संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए । नेपालका कम्युनिष्टहरुले पनि जनताको सर्वोच्चता मान्नेछन् भन्ने अाँकलन गरियो भने भविष्यका लागि धेरै नै प्रत्युत्पादक हुने भन्दै उनले त्यस विरुद्ध एकजुट हुनुपर्ने बताए ।
नेता शेखर कोइरालाले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर अवस्थामा रहेको र सत्ता कब्जा गर्ने नियतले सरकार अघि बढेको बताए । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण लगायत संरकारका अंगहरुलाई प्रधानमन्त्रीले आफ मातहत ल्याएर सर्वसत्तावादतर्फ उन्मुखभएको उल्लेख गरे ।
त्यसैगरी सचेतक पुष्पा भुसालले नेपाली कांग्रेस कम्युनिष्ट भन्दा फरक हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रजातन्त्र संरक्षणको दायित्वबोधका सबै प्रजातन्त्रका पक्षधरहरु एकठाउँमा उभिनुपर्ने बताइन् ।