८ कार्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निर्वतमान कप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ क्यानले राजीनामाबारे प्रस्ट पार्न आग्रह गरेको छ ।
क्यानको पहिलो बैठकमै कप्तान पदबाट पारसले राजीनामा दिएको खबर मिडिया र सामाजिक सञ्जालबाट थाहा भएको भन्दै यसबारे लिखित रुपमा जानकारी गराउन आग्रह गरेको हो ।
पारसलाई क्यानले औपचारिक रुपमा बिहीबार पत्र पठाएको स्रोतले जनाएको छ । पारसले नयाँ कार्यसमिति आएपछि काम गर्न सजिलो वातावरण बनाउने भन्दै सामाजिक सञ्जालमार्फत कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
क्यानमा भर्खरै नयाँ नेतृत्व आएकाले यस विषयमा क्यानले पारसले औपचारिक निर्णय नगराएकाले राजीनामा स्वीकृत गर्ने कुरै नआउने पनि स्रोतले जनाएको छ । अहिले तिहार पर्व पनि सुरु भइसकेकाले तिहार पछि पारसले जवाफ पठाउने क्यानले अपेक्षा गरेको छ ।
अब क्यानको अर्को बैठक भने नोभेम्बर २० तारिख पछि मात्रै बस्ने पनि जनाइएको छ । आईसीसीका प्रतिनिधिहरु आएपछि उनीहरुसँग संयुक्त बैठक बस्ने क्यानले जनाएको छ । नोभेम्बर पहिलो साता आईसीसीका प्रतिनिधिहरु आउने भनिएकोमा नेपाल हेर्ने प्रतिनिधि चीन भ्रमणमा जानु पर्ने भएकाले बैठक नोभेम्बर २० पछि मात्रै हुने सम्भावना रहेको पनि जनाइएको छ ।
क्यानलाई हालै मात्र आईसीसीले सशर्त निलम्बन फुकुवा गरेको हो । त्यसैले क्यान अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिएकाले आर्थिकलगायतका कार्ययोजना बनाउन आईसीसीका प्रतिनिधि आउन लागेका हुन् ।