८ कार्तिक, काठमाडौं । प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको बताए।
अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ । मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकारपनि सरकारी वकिलको कार्यालयलाई छ । तर यो काम आज नसकिने जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । आइतबारदेखि तिहार बिदा सुरू हुन्छ । उनको मुद्दा चलाउने नचलाउने निर्णय गर्न सरकारी वकिललाई अझै ६ दिनको समय छ। कात्तिक १४ गते महरामाथि मुद्दा चलाउने नचलाउने निर्णय गरिसक्नुपर्छ ।
उता, फरेन्सिकबाट रिपोर्टको आधिकारिकता पुष्टि गर्न महराको डिएनए परीक्षण गर्ने प्रहरीको तयारी छ । जिल्ला अदालत काठमाडौंले महराको रगत झिकेर डिएनए परीक्षण गर्न अनुमति दिइसकेको छ ।