छठ आजदेखि सुरु, घाटको सरसजावटमा स्थानीय जुटे

छठ आजदेखि सुरु, घाटको सरसजावटमा स्थानीय जुटे

१४ कात्तिक, विराटनगर । तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ बिहीबारदेखि विधिवत रुपमा सुरु भएको छ ।

चार दिनसम्म मनाउने छठको पहिलो दिन बिहीबार जीउ शुद्ध गर्न नुहाउने गरिन्छ । जसलाई ‘नहाय–खाए’ भनिन्छ । विराटनगरसहित तराई मधेसमा छठका व्रतालुहरु नुहाएर ‘अरबा अरबाईन’ खान्छन् ।

‘मरुवा’ (कोदो), ‘मुसुरोको दाल’ लगायत प्याज लसुन बिहीबारदेखि पर्व सम्पन्न नभएसम्म खान नहुने परम्परा छ । छठका लागि घाटको सरसजावटमा स्थानीयहरु जुटेका छन् । पोखरी, नदी, कुवा लगायतका स्थानलाई सिंगारिँदै छ । खास गरेर विराटनगरको सिंगिया खोला, केसलिया तथा यहाँ रहेको नहरमा छठ पूजा गरिने भएकाले ती स्थानहरु सजाउन थालिएको छ ।

त्यस्तै छठको दोस्रो दिन शुक्रबार दिनभर उपवास बसी राति खीर बनाई देउतालाई चढाएर व्रतालुहरु खाने गर्दछन यस विधिलाई ‘खरना’ भनिन्छ । खरनामा खिरलाई चढाउने गरिन्छ ।

त्यस्तै छठको मूल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।

बिहानीको अर्घ्य दिएपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ । पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.