१४ कार्तिक, काठमाडौं । महाराजगञ्जमा गत शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका वेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए ।
अदालतका एक अधिकारीले म्याद थप भएको पुष्टि गरेका छन् । अभियुक्तहरुले प्रहरीले आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
पक्राउ परेका क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामाले सर्वोच्चमा प्रहरीविरुद्ध रिट दायर गरेका थिए ।
तर, आइतबार, सोमबार र बुधबार वेग्लावेग्लै निवेदन परेपछि बुधबार अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले सबै निवेदनलाई साथमै राख्न आदेश दिएका थिए । उनीहरुलाई आज प्रहरीले सर्वोच्चमा उपस्थित गराउँदैछ ।