१४ कार्तिक, झापा । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबरप्रसाद साहलाई चोरी गरेको ठूलो परिणामको सुन र चाँदीका गरगहना सहित झापा प्रहरीले पक्राउ गरेको छ ।
झापाको कमल गाउँपालिका–६ स्थायी घर भई हाल विर्तामोड नगरपालिका–५ मा डेरा गरी वस्ने वर्ष ३५ की ललिता सापकोटा, गिता पौडेल र वर्ष ३५ की मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी भएको थियो ।
घटनापछि खटिएको ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सि.सी.क्यामरा फुटेजका आधारमा चोरी गरेर निस्किदै गरेको अवस्थामा मानिस देखेपछि खोजतलास गर्ने क्रममा साहलाई बिर्तामोड–५ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका साहले प्रयोग गरेको डब्लु बी ७४ एएम २७२४ नम्बर प्लेटको भारतीय गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट लाखौं मुल्य बराबरको सुन तथा चाँदीका गरगहना प्रहरीले बरामद गरेको छ ।
यस्तै प्रहरीले नेपाली रुपैयाँ ३८ हजार र भारतीय रुपैयाँ १३ हजार ७ सय पनि बरामद गरेको छ । बरामद भएको गरगहनाहरु सम्बन्धित पिडितहरुबाट सनाखत गराएको र समानसहित पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।