काँग्रेसले कात्तिक १७ गते मात्र उम्मेदवारी अन्तिम टुङ्गो लगाउने

काँग्रेसले कात्तिक १७ गते मात्र उम्मेदवारी अन्तिम टुङ्गो लगाउने

१४ कात्तिक, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगमी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक १७ गते मात्र उम्मेदवारी अन्तिम टुङ्गो लगाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विहीबार विहान बसेको पदाधिकारी बैठक उम्मेदवारको अन्तिम टुङ्गो १७ गतेसम्म लगाउने निष्कर्षमा पुगेको हो ।

पदाधिकारी बैठककैबीचमा प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘कात्तिक १७ गते साँझ पदाधिकारी वा केन्द्रीय कमिटी बैठकबाट उम्मेदवार छनोटको अन्तिम टुङ्गो लाग्ने निष्कर्षमा पुगेका छौँ । योबीचमा पार्टी सभापति र वरिष्ठ नेताज्यूले फिल्डमै गएर धारणा लिने काम पनि गर्नु हुनेछ ।’

उनका अनुसार जसका लागि १६ गते वरिष्ठ रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा कास्की र बाग्लुङका नेताहरुसँग थप राय लिने छन् । तनहुँबाट फर्केपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने सभापति शेरबहादुर देउवा र नेता पौडेलको तयारी छ ।

स्थानीय तहका उम्मेदवारहरु चयनको कार्य अन्तिम चरणमा पुगको भन्दै प्रवक्ता शर्माले भने, ‘गाउँ तहमा वडाका प्रायः उम्मेदवारहरु जिल्ला कार्यसमितिले नै चयन गरिसकेको छ । उप–महानगरपालिकाको हकमा धरानको नगर कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कार्यसमितिले तिलक राईको नाम टुङ्गो लगाइसकेको छ ।’

उनका अनुसार तीनवटा प्रदेशसभा निर्वाचन क्षेत्रका दाङ, बाग्लुङ र भक्तपुरमा र एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र कास्कीका सन्दर्भमा पार्टी पदाधिकारी बैठकले निर्णय लिनेछ । यतिबेला काँग्रेसमा उम्मेदवार छनोट गर्ने आधिकारिक निकाय संसदीय समिति छैन । त्यसैले पदाधिकारी बैठकबाटै उम्मेदवार टुङ्गो लगाउने काँग्रेसको तयारी छ । विवादका कारण गत निर्वाचनपछि विघटन भएको संसदीय समिति पुनः गठन हुन सकेको छैन ।

शर्माका अनुसार शुक्रबार दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारी छनोटका विषयमा पार्टी पदाधिकारीसहित वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको सहमतिमाथि नीतिगत निर्णय लिनेछ । उनले भने, ‘त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । योसँगै हामी उम्मेदवारी चयनको विषयमा थप निष्कर्षमा पुग्छौँ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.