१५ कात्तिक, विराटनगर ।
छठको अघिल्लो दिन आज शुक्रबार खरना मनाइँदै छ ।
आज साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने प्रचलन छ । आज दिनभर ब्रत बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन् ।
पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम पूर्वक मनाइने यस वर्षको छठ पर्व बिहीबार ब्रतालुहरुले नुहाएर ‘अरबा अरबाइन’ एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा सुरु भएको हो ।
भोलि (शनिबार) छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ । छठको मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफुल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
यतिबेला सूर्यलाई अर्घ दिन तराई मधेशका नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशय सिंगार्ने काम भइरहेको छ ।