१५ कार्तिक, काठमाडौं । महाराजगञ्जबाट पक्राउ ‘हाइप्रोफाइल’ जुवाडेले सर्वोच्च अदालतमा दायर गरेको रिट शुक्रबार फिर्ता लिएका छन् ।
उनीहरुले आफ्नो रिटको पक्षमा प्रमाण पुर्याउन नसक्ने भन्दै रिट फिर्ताको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका थिए । प्रधान्यायाधीश चोलेन्द्र समशेरको इजलासले उनीहरुको रिट फिर्ता हुने आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।
पक्राउ परेका मध्ये १४ जनाले छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। ‘बन्दी प्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू’ भनी सर्वोच्चले आदेश दिएको थियो । बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न ७ दिनको म्याथ थपेको थियो ।
शनिबार राति नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ ‘बले’ सहित २५ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो ।