१६ कार्तिक, विराटनगर । कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन अनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।
छठ पर्वका लागि विराटनगरको सिंगिया खोला, केशलिया खोला तथा यहाँ रहेका नहरहरुमा, काठमाडौंका गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा लगाायत तराई मधेसका नदी, तलाउ, खोला, पोखरी आदी किनारमा सजावट गरिएको छ ।
आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । जलाशय वा नदीमा जलसहित सूर्यको पूजा आराधना गरी छठ मनाउने परम्परा सनातनदेखि नै चलेको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यता, राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि, सद्भाव र एकताका साथै प्रगतिको कामना गरेकी छन् । छठका अवसरमा आज दिएको सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता बलियो बनाउनुका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।
छठ पर्वले सामाजिक एकता प्रवर्द्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेछ भने विस्वास व्यक्त गरेका छन् ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरणसमेत गरेका छन् ।